असमेली मुक्तक मञ्च, साहित्यको मुक्तक विधामा परिचित नाम हो । तर, यसको स्थापना भएको धेरै भएको छैन ।
भारतको असममा करिव ३ अघि (सन् २०१९) स्थापना भएको मञ्चको चर्चा चुलिँदो छ । साहित्यकार अनुप शर्माको पहलमा स्थापना भएको मञ्चले रमाइलो मुक्तकमय माहोल बनाउँदै आएको छ । त्यसका लागि विभिन्न माध्यमबाट प्रतियोगिता गरिरहेको छ ।
‘जानेको दिनु, नजानेको लिनु’ भन्ने उद्देश्यले स्थापनाको छोटो समयमै मुक्तक संग्रहदेखि मुक्तक लेखन कार्यशाला, राज्य, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्मका मुक्तक प्रतियोगिताका आयोजना गर्नुले पनि मञ्चकोको सक्रियताबारे धेरै कुरा प्रष्टै पार्छ । त्यसका असमका अग्रजदेखि अनुजसम्म सबैको सहयोग र सहभागिताले यसको महत्व झनै बढाएको छ ।
मुक्तक विधाको उन्नयन र विश्व साहित्यमा असमबाट निरन्तर रूपमा सहभागिता जनाउँदै आएको मञ्चले नियमित रूपमा रमाइलो मुक्तकमय माहोल गराउन मासिक रूपमा मुक्तक दोहोरी प्रतियोगिता चलाइरहेको छ ।
त्यसैगरी अनलाइनमार्फत् बेलाबेलामा मुक्तक लेखन कार्यशालाहरू गर्दै आएको छ ।
मुक्तकमय माहोल गराउन मुक्तक दोहोरी सञ्चालन गर्दै आएको मञ्चले अन्र्तराष्ट्रिय स्तरसम्म पनि आफ्नो सशक्त उपस्थिति जनाएको छ । राज्य र राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्दै आएको मञ्चले अन्तर्राष्ट्रिय मुक्तक प्रतियोगिता समेत भव्यताका साथ सम्मन गरेको छ ।
२०७८ जेठ १० देखि १७ (सन् २०२१ जुन १४ देखि २१) सम्म आयोजित अन्तर्राष्ट्रिय मुक्तक प्रतियोगितामा विभिन्न मुक्तककारहरूका ३५५ मुक्तकहरू समावेश भएका थिए ।
उक्त प्रतियोगितामा प्रस्तुत मुक्तकलाई नेपाली पब्लिकले साहित्यिक शनिवारमा समेटेको छ ।